दयाराज न्यौपाने पाल्पा – बगनासकाली गाउँपालिकामा सम्पन पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विष्णु मा.वि पोखराथोकले जितेको छ । लगातार ३ पटक कप जितेर शिल्डमाथी विष्णु मा.विले कब्जा जमाएको हो ।प्रतियोगितामा ६ स्वर्ण र४ रजत पदक र २ कास्य प्राप्त गर्दै विष्णु मा.विले उपाधि चुमेको हो । उपाधि विजेता विष्णु माविलाई ट्रफी रनिङ शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै प्रतियोगितामा ५ स्वर्ण, ९ रजत र ३ कास्य पदकसहित राम मा.वि मलेङ दोस्रो तथा ५ स्वर्ण, ४ रजत र ८ कास्य पदकका साथ सिद्धी मा.वि आर्यभन्ज्याङ तेस्रो बनेको छ । प्रतियोगितामा १० विद्यालय सहभागी थिए ।

विजयी विद्यालयलाई शिल्ड,ट्रफी वितरण गदै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले विद्यालय तहमा सञ्चाल हुने खेलकुदले विद्यार्थीहरुको खेल प्रतिको लगावको विकास हुने भन्दै पालिका सदैव सहयोगको लागि तयार रहेको उल्लेख गर्नु भएको थियो ।उहाँले पालिकाले संचालन गरेको प्रतियोगितमा सक्रिय सहभागिता साथ सफल बनाउन महत्वपुर्ण भूमिका निवाह गर्ने विद्यालय,समिति,उप—समितिलगाएतलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक,प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल,प्रवक्ता टीकाबहादुर थापा,वडाअध्यक्षहरू लगायतले पुरस्कार वितरण गर्नु भयो । कार्यक्रमको अवसरमा राम मा.वि मलेङका शिव बोटेलाई उत्कृष्ट खेलाडीको रुपमा पालिकाले मेडल, प्रमाण —पत्रसहित सम्मान गरिएको थियो ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, हाइजम्प, लङ्जम्प, ज्याभलिङ् थ्रो, कवड्डी, दौड, रिले,लगायतका खेलमा प्रतिष्पर्धा गरेका थिए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालको सञ्चालन तथा युवा तथा खेलकुद विकास समितिका संयोजक ओमप्रकाश गैरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।





















