दयाराज न्यौपाने
पाल्पा ३ असोज ÷ तेस्रो राष्ट्रिय शिक्षा दिवसको अवसरमा बगनासकाली गाउँपालिकाले उत्कृष्ट बिद्यार्थी शिक्षक र विद्यालयलाइ सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा र कक्षा १२ मा बगनासकाली गाउँपालिकाभित्रका उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी र उत्कृष्ट नतिजा ल्याउन सघाउने शिक्षकहरू र विद्यालयलाई सम्मान गरिएको हो ।

गाउँपालिकाको सभाहलमा एक समारोहको आयोजना गरी गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहबाट एसईईमा उत्कृष्ट हुने रिमा न्यौपाने,मनिसा गैरे,प्रकृति बस्याल र सान्तवना हुने सुरक्षा बस्याल, एलीना राना र दीया रानाले क्रमस नगद ८ हजार, ५ हजार,३ हजार र २—२ हजार रुपियाँ तथा कक्षा १२ मा उत्कृष्ट हुन सफल नित्याराज गैरे,सरिष्मा खाम्चा,सृष्टि गैरेले क्रमस नगद नगद ८ हजार, ५ हजार,३ हजार रुपियाँ सहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
भने सैद्धान्तीक विषयमा ए पल्स जीपीए ल्याउने ६ जनालाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
भने ए पल्स जीपीए ल्याउन सघाउने शिक्षकहरुलाइ समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै प्रतिसतको आधारमा सबैभन्दा बढी विद्यार्थी उत्तिण गराउने गुगा माध्यमिक विद्यालय गुगाँ, उत्कृष्ट जीपिए ल्याउने वेद माध्यमिक विद्यालय बराङ्दी र कक्षा १२ मा उच्च सख्यामा विद्यार्थी सहभागी गराइ उत्कृष्ट नतिजा ल्याउने राम माध्यमिक विद्यालय राम्दी गरि तीन विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यार्थी, शिक्षकलाई उत्साहभर्न कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख निसा पाण्डेले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रमा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले उत्साहजनक नतिजाको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद व्यक्त गर्दै आउने दिनमा अझ उन्नत मेहनतका साथ उत्तीर्ण प्रतिशत बढाउन सवै लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको निरन्तर मेहनतबाट नै शिक्षामा सुधार गर्ने सकिने बताउदै उहाँले पालिकाले वितग देखि निरन्तर सम्मानका कार्यक्रम आयोजना गरेको उल्लेख गर्नु भयो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले सिङ्गो गाउँपालिकाभित्रका सरोकारवाको सहयोगका कारण शैक्षिक सफलता मिलेको भन्दै सफल विद्यार्थी र विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शैक्षिक गुणस्तरलाई कायम राख्दै आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउने वातावरण बनाउन सिङ्गो गाउँपालिका परिवार लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले पालिकाले शैक्षीक क्षेत्रलाइ विषेश रुपमा हेरेको बताउदै दक्ष जनशक्ति उत्पादन तर्फ ध्यान दिएको बताउनु भयो । कार्यक्रममा वेद माध्यमीक विद्यालय बराङ्दीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद बस्यालले गाउँ सरकारले शिक्षालाइ दिएको योगदान महत्वपूर्ण रहको उल्लेख गदै यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा शिक्षा समिति सदस्य, सिता माध्यमिक विद्यालय यम्घाका प्रधानाध्यापक तथा सम्मानीत शिक्षक तेजराज पाण्डेले पालिकाले गरेको सम्मानले थप उर्जा मिलेको बताउनु भयो । सम्मानित विद्यार्थी रिमा न्यौपाने र नित्यराज गैरेले गाउँसरकारले आफूहरूलाई सम्मान गरेकोमा थप हौसला मिलेको बताउनु भयो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, कर्मचारी, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।





















