तानसेन। जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन पाल्पाको दुई स्थानमा गरी १५ हजार माछाका भुरा छाडिएको छ । पाल्पामा सबै भन्दा लामो एरिया ओगटेर बगेको तिनाउ नदीमा दुई प्रजातिका माछाका भुरा छाडिएको हो ।
तानसेन ९ को अम्लिहान र तिनाउको झुम्सा क्षेत्रमा राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएको हो । माछाका भुरा छाड्ने कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर प्रसाद गैरेले मानव अतिक्रमणमा परेर जलचर विनाश हुँदै गएको हुँदा माछाको भुरा छाडिएको बताउनु भयो । उहाँले तिनाउ खोलामा छाडिएको भुरा माछाले पारिस्थितिक प्रणाली जोगाउन मद्दत गर्ने र आउँदो दिनमा माछाबाट व्यवासाय गर्न टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

नेपालमा तिनाउ नदीजस्ता खोलामा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताउनु भयो । उहाँले छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने बताउदै असारदेखि असोजसम्मको समयमा माछा मार्नबाट रोकेर त्यसले प्रजनन प्रक्रियामा सहयोग गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा तिनाउ नदीको अम्लिहान र झुम्साबाट १५ हजार माछाका भुरा छाडिएको हो । छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, तानसेन र माथागढीका जनप्रतिनिधि, स्थानीय किसानहरुको उपस्थिती रहेको थियो। ।























