पाल्पा । लुम्बिनी साहित्य सङ्गम लुम्बिनी प्रदेश नेपालले ११६ औं लक्ष्मी जयन्ती तथा वृहत साहित्यिक समारोह तानसेनमा सम्पन भएको छ ।
प्रमुख अतिथि पाल्पा निर्वाचन क्षेत्र नं २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले उद्घाटन गदै महाकविको कृतिबाट आफ्नो जीवनलाई सफल र समृद्ध बनाउनुका साथै हामी र हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मार्गदर्शन गरेको उल्लेख गर्नु भयो । साहित्यमार्फत उहाँले दिएको सन्देश हामीले व्यवहारमा उतारेर समाजमा व्याप्त विभेद अन्त्य गर्न सकेमात्र देवकोटाप्रति सच्चा सम्मान हुनेमा जोड दिनुभएको थियो । सो अवसरमा उहाँले संस्थामा आजीवन सदस्यता लिनुहुने सदस्यहरुलाई सदस्यताको प्रमाण–पत्र पनि प्रदान गर्नुभएको थियो ।

लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष वरिष्ठ साहित्यकार कृष्णराज डि.सी.ले महाकवि लक्ष्मीप्रसादको व्यक्तित्त्व तथा कृतित्त्वका विविध पक्षहरुमा सविस्तार प्रकाश पार्नुभयो । छोटो अन्तरालमा देवकोटालाई परेको पुत्रशोक, मातृशोक र पितृशोकले उहाँको जीवनमा निकै आघात पारेको प्रसंग पनि उठाउनु भयो । उहाँमा कविता सिर्जना गर्ने अद्वितीय क्षमताका कारण १० दिनमै सुलोचना महाकाव्य रचना गर्न सकेको भन्दै उहाँले रचना गनुभएको सबै महाकाव्यहरुको संक्षिप्त चर्चा गनुभएको थियो । उहाँका खण्डकाव्य, लघुकाव्य, कालजयी कृति मुनामदनको पनि चर्चा गर्नुभयो । देवकोटा क्षमतालाई बुझ्न नसकेको तत्कालीन नेपाली समाजले उहाँलाई पागल घोषणा गरी उपचारका लागि राँची पठाएको तर त्यहाँका चिकित्सकले उहाँको प्रतिभा पहिचान गरी गलत भूगोलमा उहाँको जन्मले उहाँको क्षमता चिन्न नसक्दा यो समस्या आएको भन्ने विचार राखेको चर्चा गर्नुभयो । उहाँले सुमधुर स्वरमा शार्दूल विक्रीडित छन्दमा देवकोटाको कृति र व्यक्तित्त्व सम्बन्धी कविता र मुनामदनको केही अंश पनि वाचन गर्नुभयो ।

नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापाले आफू पहिलो पटक पाल्पा आउँदा घटेका रोचक दुई घटना सुनाउँदै उक्त घटनाले आफूलाई पराई धनप्रति निस्पृह हुन सिकायो भन्नुभयो । उहाँले लक्ष्मीप्रसादको गजल र आफ्नो “म स्वदेश आउँछु” शीर्षकको आशावादी कविता सुनाउनु भयो । संस्थाका सल्लहकार डा। नारायणप्रसाद पंतले देवकोटा के हुन् भन्दा पनि उनी के होइनन् भन्ने प्रश्न मनमा उठ्छ भन्नुभयो । देवकोटालाई गरीब भनिएकोमा आफू असहमत रहेको बताउँदै जन्म, पैत्रिक सम्पत्ति, विलक्षण प्रतिभा, कृति, पद, प्रतिष्ठा भएको बहुआयामिक व्यक्तित्त्वलाई गरीब भन्न नमिल्ने उहाँको तर्क थियो ।
सल्लाहकार राजनप्रसाद पंतले आफू १४ वर्षको प्राध्यापन छोडेर राजनीतिमा लागेको, साहित्य सिर्जनामा भने भर्खरै मात्र कलम चलाउन थालेको हो भन्नुभयो । देवकोटा गरीब नभै आर्थिक व्यवस्थापनमा भएको कमजोरी र दीनदुःखीप्रतिको उहाँको उदार भावनाका कारण पनि आर्थिक कष्ट भोगेको विचार राख्नुभयो । उहाँले देवकोटाको बारेमा “अतृप्त सपना” शीर्षकको कविता वाचन गर्नुएभयो । पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्दप्रसाद खनालले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै शार्दूल विक्रीडित छन्दमा “बाँचेर खै के भयो” शीर्षकको कविता सुनाउनु भयो ।
कार्यक्रममा सिर्जना बाचन गर्ने स्रष्टाहरुमा धर्मचन्द नेपालले देवकोटाको मृत्यु शैयाको कविता, सीता खनालले “हावाहुरीले नढालोस्” शीर्षकको कविता, गङ्गाबहादुर खत्रीले “सिँह दरबार टाढा पुगे जस्तो लाग्छ” शीर्षकको कविता, रामप्रसाद अर्यालले “चोरको जीवन” शीर्षकको गद्य कविता, आर बि निश्चलले “मुक्त आकाशको खोजीमा” शीर्षको दार्शनिक कविता, शोभा कडरिया कोइरालाले झ्याउरे लयमा “फर्कन युवा” शीर्षकको कविता, सरोज काफ्लेले शार्दूल विक्रीडित छन्दमा “माथा फुटाए पनि” शीर्षकको कविता, जनका नेपालले “खटिरो” शीर्षकको कविता र गजल, नेत्रप्रसाद न्यौपानेले श्रृङ्गारिक शैलीका मुक्तक, धातानन्द शर्मा गैरेले जुवातास विरोधी छेस्का कविता र साइनो कविता सुनाउनु भयो । त्यस्तै मनबहादुर खत्रीले “सरकार पो किन चाहियो” शीर्षकको व्यङ्ग्य कविता, विशाल दर्लामीले युवा पलायन सम्बन्धी गजल, सन्तवीर बरालले झ्याउरे छन्दको कविता, महेन्द्र पन्थीले “रातरानी फूल” शीर्षकको गद्य कविता, सूर्यबहादुर बोहराले भजन, शोभा पाण्डेले गजल, पुष्कर आचार्यले “फेर्ने मन छ” शीर्षकको कविता, च्न्द्रकला न्यौपानेले झ्याउरे छन्दको कविता, नारायणी शर्माले “लक्ष्मीप्रसाद देवकोटा” शीर्षकको कविता, विमला गैरेले “एक्लो व्यक्ति हैन म” शीर्षकको कविता, रोहितप्रसाद ज्ञवालीले केही गुलेली कविता वाचन गर्नुभएको थियो । उहाँले पञ्चचामर छन्दमा “जानकी” शीर्षकको कविता सुनाउनु भएको थियो भने ३३ बढी सात्यिकारहरुले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष भावना खनालले कलम यस्तो हतियार हो जस्ले ठूलाठूला परिवर्तन परिवर्तन ल्याउन सक्छ भन्ने विचार राख्नुभयो । उहाँले सिर्जनामा मिठो नसा हुन्छ भन्ने उल्लेख गदै साहित्य सिर्जनामा सक्रिय रहन सबैलाई आह्वान गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्न सहयोग पुर्याउने स्रष्टाहरु,आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम संस्थाका कोषाध्यक्ष रमा पन्तको स्वागत तथा सहसचिव मनबहादुर खत्रीको सञ्चालनमा चलेको थियो ।























