पाल्पा । पाल्पा र गुल्मीका पत्रकारहरु सम्मिलित मिडिया साक्षरता कार्यशाला तानसेनमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालयको सहयोगमा तानसेनमा दुइदिने मिडिया साक्षरता कार्यशाला सम्पन्न भएको हो ।


कार्यशालाको समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सञ्चारमाध्यमहरुले दिएका सूचनाबाट नागरिकहरु सुसुचित हुने भएकोले पत्रकारहरु निष्पक्ष भएर सूचना सम्प्रेषणमा लाग्नुपर्ने बताउनुभयो ।पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक–सामाजिक पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर रहने बताउनुभयो ।


कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष एवम् तानसेन वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले पाठक, दर्शक वा स्रोतामा मिडियाका काम र यसले प्रदान गर्ने सूचना–सामग्रीलाई मापन गर्ने र मूल्यांकन गर्ने क्षमता र साहस मिडिया साक्षरताले बढाउने बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुंगा साबित हुने गरी विकास भइनसकेको बताउनुभयो । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले पत्रकारहरुको क्षमता विकासमा टेवा पुर्याउने उदेश्यले कार्यशाला १२ वटै जिल्लामा नै आयोजना गरिएको बताउदै आगामी दिनमा समेत फरक खालका तालिम आयोजना गर्ने बताउनु भएको थियो ।सहभागी पत्रकार दयाराज न्यौपानेले तालिमले भोक जगाएको बताउदै आगामी दिनमा पनि यसप्रकारको तालिमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । मिडिया साक्षरता कार्यशालामा इन्टरनेशनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरका महासचिव शिरोमणी ढुङ्गाना र गोरखापत्र कर्मी मन्जिमा ढकालले मिडिया साक्षरता सञ्चारमाध्यम र सूचना साक्षरतामा आवश्यक ज्ञान र सीप,पत्रकारिताको सिद्धान्त लगायत बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्काको संचालनमा चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0