दयाराज न्यौपाने
पाल्पा माघ २८ बगनासकाली गाउँपालिकाको वडा नम्बर ६ यम्घामा स्वास्थ्य इकाइ र बगनासकालीको वडा नम्बर १ चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन गदै प्रमुख अतिथि समेत रहनु भएकी बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको भन्दै बगनासकालीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । अध्यक्ष चिदीले पालिकाका केही वडामा मात्र स्वास्थ्य भवन बन्न बाँकी रहेको भन्दै अव छिटै हरेक नागरिकहरुले नजिकैको स्वास्थ्य भवन बाट स्वास्थ्य सेवा लिने गरि गाउँपालिकाले योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए पनि जनशक्ति विकास तथा सेवाको पहुँचमा राम्रो सुधार हुन नसकेको भन्दै गाउँपालिकाले उक्त क्षेत्रमा काम गरिरहेको बताउनुभयो । पाठकले भौतिक रुपले सम्पन्न स्वास्थ्य संस्थाहरुमा नियमितरूपमा जनशक्ति औषधि, औजार र उपकरण आपूर्ति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जनताको स्वास्थयलाइ सर्वेपरि ठानेर काम गरेको उल्लेख गदै कुनै पनि सेवामा कमिहुन नदिने बताउनु भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन तथा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरको प्रभावकारी अनुगमन र मूल्याङ्कन गरिने बताउनुभयो ।यम्घाको सामुदायिक स्वास्थ्य एकाई ४२ लाख र चिर्तुङ्गधारामा स्वास्थ्य भवन १ करोड ९० लाखको लागतमा निर्माण गरिएको इन्जिनियर प्रमोद कुवरले जानकारी गराउनु भयो ।
उद्घाटन समारोहमा प्रवक्ता टीकाबहादुर थापा,वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी,ठानेश्वर तिमिल्सेना,शेरबहादुर चिदी, निर्माण समितिका अध्यक्ष पोषकान्त बस्याल, सोमबहादुर झेडी,जग्गादाता कपिल ठुङ्गाना लगाएतले बोल्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षको स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । कार्यक्रमका अवसरमा भवन निर्माणका क्रममा सहयोग गर्ने विभिन्न व्यक्ति, संस्था र चिर्तुङ्गधारामा तीन रोपनी जग्गा प्रदान गर्ने ढुङ्गाना परिवारलाई सम्मान गरिएको थियो ।





















