दयाराज न्यौपाने
रगत मानव जिवनको अत्यावश्यक तत्व हो,रगत दान मावव जिवनको अतिनै महत्वपुर्ण रुपमा हेरिने गरेको छ । रक्तदान नै जिवन दान हो र यसलाइ पुर्णको रुपमा समेत लिइने गरेको पाइन्छ । यही अभियानका साथ नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा रक्त संचार सेवा केन्द्र संचालनको तयारी गरेको छ । शाखाको गत फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाले रक्त संचार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको शाखाका मन्त्री केशवराज नेपालले बताउनु भयो ।

पाल्पामा ८१ स्वास्थ्य चौकी तथा उप स्वास्थ्य चौकीका साथै २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, मिशन अस्पताल,लुम्बिनी मेडिकल कलेज र डायलासिस केन्द्र संचालनमा रहेका छन् । तथापि आज सम्म पाल्पामा एउटा पनि ब्लड बैक छैन जसले गर्दा अस्पतालहरुले पनि सकसपूर्ण सेवा प्रदान गरिरहेका छन । त्यसै गरि सर्वसाधारण जनताहरु ब्लडको लागि भौतारीनु मात्र होइन आफ्नो मानिस गुमाउनु पर्ने बाध्यतामा पुग्ने अबस्था रहेको स्वास्थ्य समिति संयोजक डा.झपेन्द्र ढकाले बताउनु भयो ।
उहाँले बिभिन्न महामारी, दुर्घटनामा परेका, अधिक रक्तश्रावका विरामी, प्रसुति, मुटु, मस्तिष्क लगायत शल्यक्रिया गर्नु पर्नेका लागि रगतको अभाव हुन नदिने उद्देश्यका साथ संचालन गर्न लागिएको ब्लड बैक संचालनमा ल्याउन लागिएको बताउनु भयो । रक्त संचार सेवा केन्द्र संचालन तथा यसको दिगोपनाका लागि करिव पाँच करोड लाग्ने अनुमान गरिएको छ । ब्लड बैकको लागि ४ देखि ५ वटा कोठा सहितको भवन,अत्याधुनिक उपकरण र सामग्रीहरु, दक्ष जनशक्तिहरुको ब्यवस्था गर्नु पर्ने उहाँको भनाइ थियो ।
पाल्पामा संचालित पांचवटा अस्पतालहरुमा दिनहुँ रगतको आवश्यकता पर्दछ । वार्षिकरुपमा पाल्पामा ३६०४ पिन्ट भन्दा बढी रगत खपत हुनेगरेको तथ्याङ्क छ । जसमा मिशन अस्पताल १४१२, लुम्बिनी मेडिकल १३५२ र डायलासिस केन्द्र ८४० प्रिन्ट खपत हुने गरेको शाखाका मन्त्री केशवराज नेपालले बताउनु भयो । पाल्पामा नियमित रक्तदाता संघसंस्थाहरु छैनन् । यहाँ ३० देखि ४० जना युवाहरु मात्र नियमित छन् जुन प्रयाप्त छैन । मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा रगत संकलन भण्डार भएको भए पनि व्यवस्थितरुपमा संचालन हुन सकेको पाईदैन । मागको ३० प्रतिशत भन्दा बढी रगत रेडक्रसको बुटवल ब्लड बैकवाट ल्याउनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
बर्षाको समयमा सडक अबरोधका कारण समयमा रगत दिन नपाउदाको पिडा भोग्नु परेको अवस्था रहेको, छिमकी जिल्ला स्याङ्जा, गुल्मी, पर्वत र अर्घाखाँचीका बिरामीहरुको पनि उपचार केन्द्र पाल्पा रहेकोले र दिन प्रतिदिन शल्यक्रिया गर्ने बिरामीको चांप बढ्नु, रक्तदाताहरु पर्याप्त नहुनु, करिब ७ प्रतिशत बिरामीहरुले रगतको अभावमा समयमा उपचार नपाउनु र पाल्पामा रगत नपाएको कारण जिल्ला बाहिर उपचारमा जानु पर्ने बाध्यता जस्ता कारणहरुले पनि पाल्पामा एउटा रक्त संचार सेवा केन्द्र आवश्यकता रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले निकट भविष्यमै आफ्नै कार्यालय रहेको भवनबाट रक्तसंचार सेवा केन्द्र सुचारु गर्ने गरि अगाडि बढीरहेको छ । यतिवेला अर्थ संकलन अभियानलाई तिब्रता दिएको छ । रु १ लाखको यशस्कर र रु २५ हजारको बिशिष्ट सदस्य बितरण कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको छ । यतिवेला यशस्कर र बिशिष्ट सदस्य लिनेहरुको नाम अर्थसंकलन दाताहरुको सुचिमा ताम्रपत्रमा समेत लेखिने सहुलियत दिइएको छ । त्यसैगरि कोही कसैको स्मृतिमा रु २५ हजारदेखि १ लाख सम्मको अक्षयकोष दाताहरुलाई ससम्मान ताम्रपत्रमा नाम लेख्ने तर स्मृतिमा सहयोग गर्नेले सदस्य नपाउने निर्णय समेत गर्दै ५लाख देखि १० लाख मुनिको रकम सहयोग गर्नेको नामबाट नै कार्यकक्षको नाम रहने व्यवस्था रहेको छ । १०लाख माथि सहयोग पु¥याउने दाताको अर्धकदको शालिक राख्ने समेत निर्णय गरेको शाखाका सभापती बाबुराम कार्कीले बताउनु भयो ।
शाखाले रक्तसंचार सेवा केन्द्र संचालन अभियानलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । रक्तसंचार सेवा केन्द्रको स्वीकृतिको लागि पत्राचार, जिल्लाका अस्पतालहरु संग समन्वय बैठक, जिल्ला समन्वय प्रमुख सहित जिल्लाका राजनीतिक दलहरुसंग बैठक,जिल्ला समन्वय प्रमुख सहित १० वटै पालिका प्रमुख÷अध्यक्ष संगको बैठक,प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायहरुसंग बैठक,भु.पू. सैनिक तथा पुर्व प्रहरी संगठन संग बैठक,भु पु सैनिक कल्याणकारी क्लब संग बैठक,उद्योग वाणिज्य संघ, पाल्पाली संगम काठमाडौ र व्यापार संघका अध्यक्षहरुसंग बैठक बस्ने काम सकिइसकेको र सबैबाट सकारात्मक प्रतिबद्धता आएको मन्त्री नेपालले बताउनु भयो ।
पाल्पामा संचालित अस्पतालमा उपचार गरिरहेका बिरामीहरुको लागि ताजा रगत पु¥याउन आफुहरु क्रियाशिल रहने नियमित रक्तदाता संघ पाल्पाका अध्यक्ष भगवान भण्डारीले बताउनु भयो । उहाँले आफुलाइ दैनिक रुपमा १२— १५ जनाको फोन गर्ने गरेको बताउनु भयो । उहाँले यसको लागि स्थाइ केन्द्र रक्त संचार अति नै आवस्यक रहेको उल्लेख गर्नु भयो । यसले सारा नागरिकलाइ सहजहुने समेत बताउनु भयो ।
दाह्री ग्याङ पाल्पाका अध्यक्ष रमेश गैरेले आकस्मीक रगत बितरणका देशभर १ लाख ८ हजारभन्दा बढी सक्रिय सदस्य रहेको र पाल्पामा दुइ सय भन्दा बढी रक्तदाताहरु ग्याङमा रहेकाले पाल्पामा रक्त संचार सेवा केन्द्र संचालनमा आएमा आफुहरु सक्रिय रहने उहाँको भनाइ थियो ।
हाल पाल्पामा १८ वटा शाखा र १ हजार ४ सय २७ जना सदस्य रहेको र यस महा अभियानलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको शाखाले जनाएको छ ।





















