दयाराज न्यौपाने
पाल्पा जेठ २४ । बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८१—०८२ को नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने रायसुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाले राजनीतिक दल, सञ्चारकर्मी, संघ संगठनका प्रतिनिधि लगायत सरोकारवालाहरुसँग सुझाव संकलन गरेको हो । गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमको तयारी गरिरहेको र बजेट समेत बनाउँदै गरेको अवस्थामा कुन कुन विषयहरुलाई समावेश गर्दा थप प्रभावकारी हुन्छ भन्ने विषयमा केन्द्रीत रही यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

उहाँले गाउँपालिकाले अघिल्ला वर्षहरुमा पनि सरोकारवालाहरुकै सुझाव सल्लाह बमोजिम नीति कार्यक्रम र बजेट बनाउँदै आएको र बजेटको सही कार्यान्वयन हुँदै आएको बताउनुभयो । अध्यक्ष चिदीले नीति कार्यक्रममा के के विषय थप गर्दा राम्रो हुन्छ, बजेटमा कुन कुन विषय थप गर्दा राम्रो हुन्छ भन्ने विषयमा राय सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले केही दिन पछि नै बजेट ल्याउने तयारी गरिरहेको बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, संघ संगठनका प्रतिनिधि,लक्षित समूहका प्रतिनिधि लगायतले गाउँपालिकाले भौतिक रुपमा राम्रे फड्को मारेको बताउदै उत्पादन र नविनत्तम कार्यक्रम लाइ प्राथमीकतामा राखेर बसाइ सराइ गरि जानेदरमा कमी ल्याउन पहल गर्नु पर्ने जस्ता राय सुझाव सल्लाह दिनुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले गतवर्ष समावेश भएका सुझावको अधिकत्तम कार्यान्वयन गर्ने प्रक्रियालाइ निरन्तरता दिएको बताउनु भयो ।गाउँपालिकाले पालिका भित्र रहेका गैर सरकारी संघ संस्था तथा साझेदारी संस्थासंग केही दिन अघि समन्वय बैठक तथा राय सुझाव संकलन समेत गरेको थियो ।





















