साउन २२ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै “लाइफ लाईन” रहेको बताउनु भएको छ ।

लुम्बिनी प्रदेशको समग्र स्वास्थ्य क्षेत्र सुधार्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल यो प्रदेशकै लाइफ लाइन भएको उहाँले बताउनु भयो ।अस्पताल विकास समितिले उहाँको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सारुले अस्पतालको सेवामा पारदर्शीता अपनाउन र गुणस्तरीय सेवा प्रदानका लागि सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।


“म मन्त्री रहेसम्म स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने छु, यदि राम्रो गर्न सकिन भने नराम्रो मबाट कुनै हालतमा हुने छैन”–अस्पतालका स्वास्थ्यकर्मीसामु उहाँले भन्नुभयो । मन्त्री सारुले सरुवा बढुवा र प्रलोभनमा आफू नपर्ने पनि बताउनु भयो । “सरुवा बढुवाको नाम लिएर र विभिन्न प्रलोभन लिएर मकहाँ कोही नआउनु होला, अस्पताल सुधार गर्ने तपाईहरुको योजनामा प्रदेश सरकार पुर्णतः साथमा छ”–मन्त्री सारुले भन्नु भयो ।


अस्पतालमा व्यवस्थाका कारण अध्यक्ष र मेसुले काम गर्न नपाएको र यो समस्या पनि छिट्टै हल हुने विश्वास समेत दिलाउनु भयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि काम अगाडि बढेको र चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १ अर्व ८० करोड रुपियाँ बिनियोजन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले लुम्बिनी प्रदेशको कुल बजेटको १५ प्रतिशत स्वास्थ्य मन्त्रालयका लागि र मन्त्रालयको कुल बजेटको ५० प्रतिशत रकम लुम्बिनी प्रादेशिक अस्पतालका लागि छुट्टिएको जानकारी दिनुभयो ।
“स्वास्थ्य मन्त्रालयले ५० प्रतिशत बजेट छुट्टयाउनु भनेको यो अस्पताललाई प्रदेश सरकारले दिएको सबैभन्दा बढी महत्व हो”– उहाँले भन्नुभयो “अस्पतालको कामलाई प्रभावित पार्ने गरी निजी क्लिनिकलाई महत्व नदिन म सम्पूर्ण चिकित्सकहरुलाई आग्रह गर्दछु ।”

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जुनसुकै सरकारले नियुक्त गरेपनि अध्यक्षले ३ वर्षे पूरा कार्यकाल बिताउन पाउनुपर्ने बताउनु भयो । अध्यक्ष पद कार्यकारी नभै राजनीतिक पद भएको र यसलाई सोही अनुसार लिनका लागि आग्रह गर्दै उहाँले सरकारैपिच्छे विकास समिति फेरिरहने हो भने अस्पतालको विकास हुन नसक्ने समेत जिकीर गर्नुभएको थियो ।
अस्पतालका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले आफूले एक महिनादेखि यस अस्पतालमा जिम्मेवारी सम्हाल्नुपरेको भन्दै जसका कारण निर्देशकको हैसियतले गर्ने अन्य काम कारवाहीहरु ओझेलमा परेको गुनासो गर्नुभएको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले हाल ६०० बेड सञ्चालनमा रहेको अस्पतालमा स्तरोन्नतीपछि १२ सय बेड सञ्चालन हुँने भन्दै यो अस्पतालसँग लुम्बिनी प्रदेशकै भविष्य गाँसिएको बताउनु भयो । छुट्टै अप्रेसन थिएटर सञ्चालनदेखि लिएर विभिन्न कक्षमा अत्याधुनिक उपकरणसहित अस्पताल सञ्चालनको योजना रहेकाले यसतर्फ सबै मिलेर अघि बढे मात्रै अस्पतालका योजनाहरु पूरा गर्न सकिने उहाँको भनाइ थियो । खबरपात्रोको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0