पाल्पा भदौ १ ÷ पाल्पा अस्पतालले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलो पटक गृह जिल्ला आउनुभएका स्वास्थ्य मन्त्रीलाई पाल्पा अस्पतालले स्वागत सहित अस्पतालको अवस्था बारे जानकारी गराएको हो । अस्पतालको वर्तमान अवस्था, सम्भावना र सुधार गर्नु पर्ने पक्षहरुका बारेमा जानकारी लिर्दै मन्त्री सारुले अस्पतालको भौतिक संरचना र सेवा प्रवाह कक्षको निरीक्षण समेत गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै मन्त्री सारुले अस्पतालको सेवामा पारदर्शीता अपनाउन र गुणस्तरीय सेवा प्रदानका लागि सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । अस्पतालमा आउने बिरामीलाइ राम्रो परामर्श सहित उपचारमा दत्तचित्त भएर लाग्न समेत आग्रह गर्नुभएको थियो । उहाँले आवश्यक जनशक्ति र पूर्वाधारमा हुनसक्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताउदै अस्पतालबाट उपलब्ध सेवालाई प्रभावकारी बनाउन आग्रह समेत गर्नुभयो । उहाँले आफु मन्त्री पदमा रहेसम्म स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्रबहादुर जिसीले उपलब्ध स्रोत र साधन अनुसार बिरामीलाई सहज रुपमा सेवा उपलब्ध गराइरहेको जानकारी गराउनुभयो । उहाँले पछिल्लो समय अस्पतालमा आउने बिरामी मध्ये ७० प्रतिशतले जिल्ला अस्पतमलमै उपचार गरिरहेको र बाँकी ३० प्रतिशत बिरामीले रिफर सेवा लिने गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालको पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापनमा सघाउन मन्त्री सारुलाई अनुरोध गर्नुभयो । सबै मिलेर अघि बढे मात्रै अस्पतालका योजनाहरु पूरा गर्न सकिने उहाँको भनाइ थियो । ओपिडीमा मा आउने बिरामीको लागी अधिकतम सेवा दिन अस्पताल निरन्तर लागि परेको उहाँको भनाइ थियो ।

स्वागत कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले पाल्पा अस्पताल पुरानो अस्पताल भएको र पुरानो भौतिक संरचनाबाट सेवा प्रवाहमा समस्या रहेको बताउदै अस्पताललाई स्तरोन्नति गर्न जग्गा अभाव हुन् नदिन र तत्काल जग्गाको व्यवस्थापन गरी पूर्वाधार निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा अस्पताल विकास समितिका पूर्व सदस्य शशी श्रेष्ठ, चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0