दयाराज न्यौपाने
राष्ट्रियता संग जोडिएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्रामा यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा आउनुहुने भएको छ ।

पाल्पा जिल्लाका संघीय सांसद ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्यको पहलमा राष्ट्रपति पौडेल भगवतीको खट्यात्रामा सरिक हुन पाल्पा आउन लाग्नुभएको हो । खट्यात्रामा राष्ट्रप्रमुखको उपस्थिति निश्चित भएपछि पाल्पामा खुसी छाएको छ । पछिल्लो समय राष्ट्रिय पर्वका रुपमा भगवती जात्रालाई मनाउनु पर्ने आवाज उठिरहेको बेला राष्ट्रप्रमुख पाल्पा आउने खवरले पाल्पालीहरु खुसी भएका छन् ।
सांसदद्धय गैरे र आचार्यले रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिसंगको समन्यवमा भदौ २ गते शितल निवास पुगेर औपचारिक रुपमा राष्ट्रपति पौडेललाई भगवतीको खट्यात्राको निमन्त्रणा गर्नुभएको थियो । खट्यात्राको गरिमा बढाउन र उत्सबलाई राष्ट्रिय पर्वका रुपमा सूचीकरण गर्ने काममा सहजीकरणका लागि समेत उहाँहरुले अनुरोध गर्नुभएको थियो ।
यस वर्ष २ सय ५ औं खट्यात्रा निकालीदै छ । नेपाल–अंग्रेज युद्धको विजय उत्सवका रुपमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने भगवती जात्रा यस वर्ष भदौ ११ गते परेको छ । जितगढीमा भएको नेपाल अंग्रेज युद्धमा अंग्रेज सेनालाई हराएपछि विजयउत्सवका रूपमा सुरू भएको पाल्पाको भगवती रथयात्रा दुई सय ५ वर्षदेखि नियमित निकालिदै आएको छ ।





















