दयाराज न्यौपाने
पाल्पा ः बगनासकाली गाउँपालिकाले बगनासे साँचोको प्रवर्द्धन गर्ने भएको छ । लोप हुँदै गएको पुरानो साँचोलाई प्रवर्धन गर्न बजेट नै विनियोजन गरेर पुरानै स्वरूपमा साँचो उत्पादन गर्ने पक्रिया सुरु गरेको हो ।


साचो सार्वजनिकरण कार्यक्रममा बोल्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले परम्परागत रुपमा प्रयोग हुँदै आएको साँचोको थप प्रचार, प्रयोगसँगै गाउँपालिकाको पहिचान बढाउन पालिकाभित्रका सवै कार्यालयमा बगनासे साँचोको प्रयोग गर्ने तयारीमा रहेको बताउनुभयो । ‘स्थानीय तहमा सीप जानेकोलाई आर्थिक उपार्जन हुने, गाउँपालिकाको पहिचान बढ्ने भएकोले साँचोको बजार व्यवस्थापनका लागि सघाउने छौं,‘चिदीले भन्नुभयो, ‘निर्माण कर्ता वृद्धि गर्ने र प्रयोग कर्ता बढाउन पालिकाले सम्झनाको चिनो स्वरूप पाहुनालाई कोसेलीमा बगनासे साँचो दिनेगरी कार्यक्रम अगाडि बढाएका छौं’


कृषि उद्योगका सञ्चालक खुमबहादुर विश्वकर्माका छोरा भोजराज विश्वकर्माले आफ्ना बुवाले सुरु गरेको पेसालाई निरन्तरता दिन आफूहरू दुइ छोरा सक्षम भएको बताउनुभयो । ‘हामी विदेश कतै नगई बा, छोरा तीनै जना यसैमा सम्भावना खोज्दैछौं ।’ भोजराजले भन्नुभयो, ‘सीप सिकेकाले उत्पादनमा समस्या छैन, बरु पालिकाले बजार व्यवस्थापनमा सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।’ बगनासे साँचो लामो समयसम्म टिकाउ हुने, खोलेर बनाउन मिल्ने र सम्पत्ती सुरक्षा गर्ने बलियो साँचो भएकोले यसले बजार पाउनेमा आफूहरू आसावादी भएको उहाँको भनाई छ ।
गाउँपालिस्तरीय दलित समन्वय समितिका अध्यक्ष तेजप्रसाद रसालीले सिपलाइ हस्तान्त्रण गर्ने प्रयास गरिएको बताउदै यो वर्ष २ लाख बजेटबाट २२२ प्रति साँचो निर्माण गरिएको जानकारी दिनुभयो ।


बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासे साँचो बलियो र सुरक्षित रहेकोले सबैले यस्को प्रयोग गरि प्रवर्धनमा सहयोग गर्ने अनुरोध गर्नुभएको थियो । बगनासे साँचोलाई जिल्लाबाहिर पनि बिक्री गर्ने गरी ब्राण्डिङ गर्न पालिकाले योजना बनाएर काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनु भयो । गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले आगामी दिनमा तालिम दिएर व्यावसायिक रूपमा साँचो उत्पादन गर्न पालिका भित्रका युवालाई गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन वि.क, दलित समन्वय समितिका सचिव गणेश नेपाली, सदस्य सी.ता. विक लगायतले बगनासे साँचोको पहिलेदेखि नै चर्चा भएपनि गाउँपालिकाले औपचारिक कार्यक्रमसहित सार्वजनिकीकरण गरेर प्रचारप्रसारमा टेवा पुगेको र पालिकाको पहिचान समेत बढ्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिकाका सहायक महिला विकास निरीक्षक धनकुमारी रानाको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न विषयगत शाखाप्रमुखलाई मायाको चिनोस्वरुप बगनासे साँचो प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0