दयाराज न्यौपाने
पाल्पा भदौं -पाल्पाको बगनासकाली गाउँपालिका ७ खानीगाउँको कमेरेमा २१ वर्ष पछि रोपाइँ जात्रा निकालिएको छ । कमेरे आमा समूहको आयोजना र निरन्जन युवा क्लबको समन्वयमा २१ वर्ष पछि पुन जात्रा निकालिएको हो ।
रोपाइँ सकेपछि हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मौलिक पर्व हो रोपाइँ जात्रा । सडकमा असारे भाका र पन्चेबाजाको तालमा गीत गाउँदै नाच्दै, हलगोरु, बाउसे र रोपारीसहित रोपाइँको झल्को मेटाउँदै यो जात्रा निकालिन्छ । वर्षे धान रोपाइँ सकेपछि किसानले खुसीयालीका रुपमा यो पर्व मनाउन सुरु गरेको पाइन्छ । विगतमा दर्जनबढी स्थानमा निकालिने यो जात्रालाई रोपाइँ सकेपछि मनोरञ्जन गर्ने पर्वका रुपमा समेत लिने गरिन्थ्यो । तर, पछिल्ला वर्षहरुमा मनोरञ्जनका साधनमा भएको विकास र जात्रा निकाल्न धेरै खर्च लाग्ने तथा गाउँमा युवा पुस्ता नहुनाले जात्रा निकाल्न समस्या हुँदै आएको स्थानीय यज्ञप्रसाद न्यौपानेले बताउनु भयो ।
जात्रा हराउने अवस्थामा पुगेपछि यो वर्ष लामो प्रयास पछि पुनः निकालिएको समूहकी अध्यक्ष बिष्णु बुढाथोकीले बताउनु भयो । तालिम गर्ने,बाजा खानानास्ता सहित खर्च ठुलो हुने भएका कारण जात्रा निकाल्न समस्या भएको उहाँको गुनासो छ । आमा समूह बीच सामान्य छलफल गरि थालिएको काम २१ वर्ष पछि जात्रा निकाल्न सफल भयो उहाँले भन्नु भयो । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले मौलीक संस्कृतिको संरक्षणमा पालिकाले चासो दिएको र केही आर्थिक सहयोग समेत गर्ने गरि नीतिगत निर्णय गरिएको बताउनु भयो । वडा नं ७ का वडाध्यक्ष गणबहादुर बुढथोकीले आगामी दिनमा थप छलफल गरि कार्ययोजना सहित संस्कृति पर्वहरुको संरक्षणमा लाग्ने बताउनु भयो ।
रोपाइँ जात्रा खेतमा काम गरेर थाकेका कृषकलाई मनोरञ्जन दिन निकालिने यो जात्रा अहिले संस्कृति बन्दै आएको छ । अहिले यसको महत्व बढेको भएपनि यसको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जानकारहरुको जोड छ ।
निरन्जन युवा क्लबका अध्यक्ष बिष्णु तिमिल्सेनाले जात्राले यो क्षेत्रको पहिचानमा टेवा पुग्ने विस्वास व्यक्त गर्नु भयो । सांस्कृतिक पर्वका रुपमा पाल्पाका धेरै स्थानमा निकालिने यो जात्रा यस वर्ष तानसेन, बगनासकालीको नायरनमत्लेस, रम्भा र रामपुरमा निकालिएको थियो ।





















