दयाराज न्यौपाने
पाल्पा । बगनासकाली गाउँपालिकाले संविधान दिवस २०८१ को अवसरमा पारेर ७० फिट उचाइ रहेको पोलमा ५० फिट अग्लो राष्ट्रिय झण्डा फहराएको छ । गाउँपालिकाको वडा नं. ९ चापपानीको बगनासडाँडाको कोटघर देवीथानमा झण्डा फहराएको हो ।

राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बगनासकालीको पर्यटकीय विकासमा सहयोगी हुने बताउनु भयो । उहाँले नेपालको गरिमा बढाउने गरि राष्ट्रिय झण्डा राखेको बताउनु भयो । बगनासकाली गाउँपालिकाको करिव सबै स्थानबाट यो कोटघर डाँडामा रहेको झण्डा देखिने गरि ठाउँ छनोट गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको १० लाख बजेटबाट यो झण्डा फहराईएको हो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली गाउँपालिकाको नामाकरण पनि यसै ठाउँको नामबाट रहेको र यो ठाउँमा राष्ट्रिय झण्डा फहराउँदा थप पर्यटकीय विकास हुने बताउनु भयो । राष्ट्रिय झण्डाको स्थापनाले बगनासकाली गाउँपालिकाको गौरव बढेको कारण यस ठाउँको पर्यटकिय विकासमा टेवा पुग्ने बताउनु भयो ।
गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले झण्डा स्थापनाले गाउँपालिकाको राम्रो सन्देश दिने बिस्वास व्यक्त गर्नु भयो । सोहि अवसरमा झण्डा राख्न संरचना तयारगर्ने निर्माण व्यवसायी निरेन्द्र कुमार झेडीलाई सम्मान समेत गरिएको थियो ।
गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो । यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।





















