दयाराज न्यौपाने
पाल्पा असोज २०- स्काउट शान्ति र सुरक्षा २२५० अन्र्तगत दुव्र्यसनी सम्वन्धी अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन भएको छ । स्काउट शान्ति र सुरक्षा समूह लुम्बिनीको आयोजना र स्काउट तथा लुम्बिनी प्रदेशको सहयोगमा कार्यक्रम सम्पन भएको हो ।

फिनल्याण्ड स्काउटको सहयोगमा संचालित अन्तरक्रिया कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दुव्यसनी आफैंमा जति पीडादायक छ त्यति नै दुव्र्यसनीमामा फसेकाको परिवारमा यसले दिने पीडा उल्लेखगरी साध्य नहुने हुँदा यसको नियन्त्रणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले घर परिवारले आफ्नो छोराछोरीको स्कूलको समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी राख्न आग्रह समेत गर्नुभएको थियो ।
मेयर श्रेष्ठले लागू औषध दुव्र्यसनी रोकथामका लागि नगरले विशेष कार्यक्रमहरु संचालन गर्ने समेत जानकारी दिनुभयो । लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त दिनानाथ भट्टराइले बालबालिकाको व्यक्तित्व विकासका शारीरिक विकास, सामाजिक विकास, बौद्धिक विकास, संवेगात्मक विकास, अध्यात्मिक विकास) विकासको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताउदै विश्वमा सबभन्दा ठूलो अनौपचारिक शिक्षा अभियानको रुपमा रहेको स्काउटिंग अभियानमा युवालाई लगाउन सकिएको खण्डमा लागुपदार्थ दुव्र्यसन लगायतका कुतलबाट युवाहरुलाई बचाउन सकिने उहाँको भनाइ थियो । उहाँले सन् २०२५ सम्ममा सबै ठाउँका बिषय समेटेर प्रतिवेदन बुझाउने तयारी रहेको समेत बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा मिसन अस्पताल पाल्पाका डा.राजिव न्यौपानेले लागू पदार्थले तुरुन्तै असर गर्छ । यी पदार्थहरू यति खतराजनक हुन्छन् कि दुई–चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन् यस्को प्रभाव कम गर्ने जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रणसम्बन्धी अभियान चलाउने, ध्यान, योग, पारिवारिक परामर्श, लागूऔषध उपचार तथा पुनस्र्थापना गर्ने, स्वास्थ्य सेवा तथा परामर्श, खेलकुद कार्यक्रम सञ्चालन गर्ने, लागू पदार्थ दुव्र्यसनसम्बन्धी घर, परिवार, समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम सञ्चालन गरी लागू पदार्थ दुर्व्यसनलाई रोक्न सकिने उहाँको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्दिप बेल्वासेले लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुने हुदाँ समयमै सचेत बन्नुपर्ने बताउनु भयो । उहाँले सहकार्यले नै न्यूनिकरणमा टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला युवा परिषद् पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीले जनचेतनाजन्य कार्यक्रमलाई व्यापक रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त बनाइरहेको बताउनु भयो ।

कूलतमा फसेकाहरुलाई कूलतबाट निकाल्दै समाजमा सम्मानकासाथ पुनर्स्थापित गराउन समाज तथा स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका सहभागीहरुले बढेदो दुव्र्यसनीको समस्या र त्यसको न्युनिकरणका लागि गर्ने सकिने कार्यहरु समुहगत छलफल गरि प्रस्तुतिकरण गर्नुभएको थियो ।

फिनल्याण्ड स्काउट र नेपाल स्काउटको सहकार्यमा स्काउट शान्ति सुरक्षा कार्यक्रम प्रदेशका विभिन्न स्थानमा संचालन भइरहेको प्रदेश कार्यालयका प्रमुख तारा पुरीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रम स्काउट मास्टर, रोभर रेन्जर स्काउट तथा गैर स्काउटहरुको सहभागिता रहेको थियो । स्काउट शान्ति सुरक्षा कार्यक्रम स्काउटर सुन्दर बस्यालको संचालनमा चलेको थियो ।





















