दयाराज न्यौपाने

पाल्पा  मंसिर १४- नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्ले दुई ठुलादलहरु मिलेर बनेको वर्तमान सरकार देश र जनताको पक्षमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ । देशको समृद्धिका लागि दुई ठुला दल मिल्नुपर्ने बाध्यता आएको बताउदै मन्त्री गुरुङ्ले जब—जब मुलुकमा संकट आउछ काँग्रेस र एमाले एकठाउँमा उभिने गरेको समेत बताउनु भएको थियो । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उद्घाटन गर्दै संचार मन्त्री गुरुङ्ले मुलुक बनाउने एजेण्डा र नीति नभएका राजनीतिकदलहरुको भबिष्य नभएको समेत बताउनु भएको छ । मुलुक बचाउने भुमिका नभएका नयाँ राजनीतिकदलहरुको आयू लामो नहुने जिकीर समेत गर्नुभएको हो ।


लोक रिज्याईका लागि ठुला भाषणमात्र गर्ने तर काम नगर्ने यस्ता दलहरुले जनतालाई झुक्याउन थालेको बताउनु भएको हो । मन्त्री गुरुङ्ले भन्नुभयो मुलुकको इतिहास नबुझेका, परिवर्तन कसरी भयो भन्ने थाहा नपाएका दलहरुले ठुला दल मिल्दा हतास भएको उल्लेख गर्नुभयो ।


राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङ्ले यो व्यवस्था कसरी आयो, परिवर्तन कसरी भयो, यो व्यवस्था ल्याउदा गरेको त्याग, तपस्याको इतिहास थाहा नपाउने दलहरुको आयू अल्पायू हुने बताउनु भयो ।सरकार सुशासनको पक्षमा काम गरिरहेको उदाहरण दिदै मन्त्री गुरुङ्ले संसदीय छानविन समितिले सहकारी ठगीमा दोसी देखाएका व्याक्तिहरु माथी कारवाहि अगाडी बढाइएको बताउनु भयो ।

गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले जनताले खोजेर भेटिने स्थायी सरकार स्थानीय सरकार भएको बताउँदै जनताले अनुभुति हुनेगरी काम गर्न स्थानीय सरकारहरुलाई सुझाउनु भयो ।


कार्यक्रममा भीरकोट नरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्य, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेकपा (एमाले) का अध्यक्ष सूर्यप्रसाद गैरे (पारश), नेपाली कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, माओवादी केन्द्रका ज्ञानप्रसाद भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछाने लगाएतले गाउँपालिकाले गरेको कामको प्रंशसा गर्नुभएको थियो ।


खेलकुद महोत्सवमा महिला÷पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् ।
सात विधामा बाइस खेलमा प्रतिस्पर्धा हुने खेल महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडी सहभागी रहेको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनु भयो । गाउँपालिकाले खेलकुद क्षेत्रमा विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गरेको उपाध्यक्ष सावित्रा कोइरालाले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले पालिकाको सम्रग क्षेत्रको विकासमा यसले टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।


अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव –२०८१ मा २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव –२०८१ मा सहभागी खेलाडीले खेलमैदानमा मार्चपास समेत गरेका थिए।


प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पाँच लाख १० हजार रुपैयाँ पुरस्कार वितरण गरिने पालिकाले जनाएको छ । कालीगण्डकी गाउँपालिका –७ मिर्मी खेलमैदानमा संचालित महोत्सव ३ दिन सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0