दयाराज न्यौपाने
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवमा करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र कुल ३ करोडको कारोवार हुने आयोजकले लक्ष्य लिएको छ । महोत्सवमा प्रवेश शुल्क साधारणतर्फ ८० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई बढाउन महोत्सव गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक नारायण न्यौपानेले बताउनु भयो ।

महोत्सवमा फोटो ग्यालरी र स्थानीय कलासंस्कृति ‘झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिने संयोजक न्यौपानेले बताउनु भयो । महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका गरी १ सय ५० स्टल रहनेछ । महोत्सवको कल्चर एण्ड कन्ट्री विशेष कार्यक्रम सञ्चालन गरिनेछ । महोत्सवमा स्थानीय कलाकार र कला केन्द्रहरुको प्रस्तुती रहने, बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ । महोत्सव स्थलमा स्टलका रुपमा रहेका होटल तथा रेष्टुरेन्टमा स्थानीय दुनाटपरीको उपयोगलाई प्राथमिकता दिइने बताउनु भयो ।

महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था मिलाइनेछ । बगनासे साँचो, दुनाटपरी उद्योग, विद्यार्थीहरुवाट निर्मित शैक्षिक सामग्री प्रदर्शनको तयारी समेत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रकार भन्दा व्यापार गर्ने उदेश्यले समितिले काम गरेको उल्लेख गदै अन्य महोत्सवको तुलनामा राम्रो बनाउन सकिएन भने सबै उस्तै हुन् भन्ने सन्देश जान सक्ने उल्लेख गदै नारा अनुसार काम गर्ने आग्रह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका नवनिवाचिर्त अध्यक्ष कमलराज तिमिल्सिनाले महोत्सव आम पाल्पालीको हुने बताउदै सफलतापूर्वक सम्पन हुनेमा आफु विस्वस्त रहेको बताउनु भएको थियो । मुल आयोजक समितिका सदस्य यज्ञमुर्ति तिमिल्सिनाको संचालन र सदस्य बिष्णु घिमिरेको स्वागतमा पत्रकार भेटघाट कार्यक्रम चलेको थियो ।





















