दयाराज न्यौपाने
पाल्पा माघ २९ -बगनासकाली गाउँपालिकामा मंगलबारबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ एच.पि.भि खोप अभियान सुरु भएको छ ।

मंगलबार राम आधारभूत विद्यालय बगनासकाली १ बाट खोप अभियान सुरु भएको हो । खोप अभियान कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठककले स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन केरियर दिएर अभियानको शुभारम्भ गर्नुभएको थियो । अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष पाठकले पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सबैको महत्वपूर्ण भूमिका रहने भएकाले अभियानमा किशोरीहरुलाई सहभागी गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले पहिलो पुस्ताले लगाउन नपाउदा रोगको संक्रमण दर बढेको कुरा उल्लेख गदै पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भि खोप अभियान सप बनाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख गुनाराम खनाल,वडाध्यक्ष शेरबहादुर चिदी,राम आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद बस्याल,स्वास्थ्य सिअहेव सशीकला रेश्मी लगायतले खोप प्रभावकारी भएकाले पनि किशोरीहरुलाइ अभियानमा जोडिन आग्रह गर्नु भएको थियो ।
मंगलबार पालिकाका ९ वडाबाट खोप दिइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बगनासककाली १ चितुङ्धारामा २२ जना, वडा नं २पोखराथोकमा ४२ जना, वडा नं ३ नायरनमतलेसमा १५ जना,वडा नं ४ खानीछापमा ८ जना, वडा नं ५ दर्लमडाँडामा २८ जना, वडा नं ६ यम्घामा १९जना वडा नं ७ खानीगाउँमा १८ जना र वडा नं ८ बराङ्दीमा ७ जना तथा वडा नं ९ चापपानीमा ३९ जना गरी १९८ जना किशोरीले एचपीभी खोप लगाएका मणीराम अधिकारीले जानकारी दिनुभयो ।
खोप लगाएका किशोरीमा कुनै पनि समस्या नआएको उहाँको भनाइ थियो । पालिकामा खोप अभियान फागुन ३ गतेसम्म सञ्चालन हुने छ । ३२ वटा खोप केन्द मार्फत अभियानमा ४ सय ६८ जना किशोरीलाई खोप दिइने छ ।





















