दयाराज न्यौपाने
पाल्पा फागुन १ पाल्पाको बराङ्दीमा रहेको शिवासन धाममा एक महिनादेखि जारी स्वस्थानी व्रतकथाको साङ्गता गरिएको छ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।सोही अनुसार पाल्पाको शिवासन धाममा दैनिक रुपमा पुजा पाठ सहित भजन कीर्तन समेत गरिएको मन्दिरका पण्डित लोकराज रेग्मीले जानकारी दिनु भयो । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा बुधबार पूजाआजा गरी समापन गरिएको हो ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी पुर्णिामाको दिन विधिपूर्वक पूजा गरि रातभर जाग्राम बसी फूलपातीलाई प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा पुगी सेलाएको महामृत्युञ्जय शिवासन धामका अध्यक्ष केशव रायमाझीले जानकारी दिनुभयो ।

केही वर्षदेखि शिवासन धामले स्वस्थानीको कथा श्रद्धापूर्वक वाचन गराउदै आएको धामका सचिव सुमन बस्यालले जानकारी दिनुभयो । केही वर्ष अघि सम्म प्रतेक घर घरमा स्वस्थानीका पुजा लगाउने गरिए पनि पछिल्लो समय कम हुँदै गएको छ ।





















