दयाराज न्यौपाने
पाल्पा बैशाख ७ ÷पाल्पा व्यापार संघले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा पाल्पा व्यापार संघका संस्थापक अध्यक्ष चिरन्जीवी पोखरेल,निवर्तमान अध्यक्ष बामदेव बस्याल र जिल्ला अध्यक्ष बिष्णुबहादुर कार्कीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना दिनुहुदै संस्थापक अध्यक्ष तथा रिब्दीकोट गाउँपालिका १ का वडाध्यक्ष समेत रहनु भएका चिरन्जीवी पोखरेलले नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाइहरु अन्त्य हुनेमा आफु विस्वस्त रहेको बताउनु भयो । उहाँले आगामी दिनमा व्यवसायीहरुको हकहितका साथै सामाजिक क्षेत्रमा पाल्पा व्यापार संघले थप आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष बामदेब बस्यालले संस्थाको आर्थिक सवलीकरणमा जोड दिंदै संस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन सबैको भूमिका महत्वपुर्ण हुने बताउनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष बिष्णुबहादुर कार्कीले व्यापार संघलाई थप सबल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको बताउनु भएको छ । उहाँले सोही अनुरुप बिभिन्न गतिबिधी समेत गदै आएको बताउनु भयो ।

संस्थाका सल्लाहकार सन्तोष खनाल,भित्तेपात्रो प्रकाशान समितिका संयोजक गोकुल पौडेल, बरिष्ठ उपाध्यक्ष कमल ढकाल,उपाध्यक्ष सितम भण्डारीलगायतले सहभागी सम्पुर्णले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघले आफ्नो कार्ययोजना अनुसार शुभकामना आदानप्रदान कार्यक्रम गरेको संस्थाका महासचिव तुलबहादुर अधिकारीले बताउनु भयो ।





















