पाल्पा असार १५ ÷ पाल्पाको बगनासकाली गाउँपालिकाको १८ औँ गाउँ सभाका अवसरमा बगनासकालीमा कार्यरत ८ जना कर्मचारी र १ खेलाडीलाइ सम्मान गरेको छ । गाउँपालिकाभित्रका वडासहित विभिन्न शाखामा रहेर लगनशील, कर्तव्यनिष्ठ एवम् इमान्दार भई कार्यालयको कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सोमबार सम्मान गरिएको हो ।
८ जना कर्मचारी र एक खेलाडीसहित नौ जनालाई गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले सम्मानपत्र, खादा, टोपी र नगदसहित सम्मान गर्नुभएको हो ।

सम्मानित कर्मचारीमा शिक्षा शाखासहित वडा र विभिन्न शाखामा कार्यरत वरिष्ठ प्रशासन सहायक नारायण तिमिल्सिना, वडा नं. ८ का स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.व. गोमबहादुर क्षेत्री, स्वास्थ्य शाखामा सि.अनमी पदमा कार्यरत संगिता थापा, पञ्जिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईमा कार्यरत एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगाले, वडा नं. ५ मा वडा सहायक पदमा कार्यरत मदनलाल न्यौपाने रहनुभएको छ । यस्तैगरी वडा नं. ३ मा ना.प्र.स. पदमा कार्यरत पशुसेवा प्राविधिक कमलादेवी खनाल, गाउँपालिका कृषि शाखामा ना.प्र.स.पदमा कार्यरत कृषि प्राविधिक खिमराज कोइराला र वडा नं. २ का वडा सहयोगी सिंह बहादुर कुमाललाई सम्मान गरिएको हो ।
गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनुभयो । यसैवीच गाउँ सभाकै अवसरमा अण्डर फोर्टिन नेशनल गेम अन्तर्गत क्रिकेट खेलमा लुम्बिनी प्रदेशकै दोस्रो हुने बगनासकाली गाउँपालिकाका वडा नं. २ का खेलाडी लेखनाथ न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा गाउँपालिकामा ६ वर्षबढी शिक्षा शाखामा रहेर कार्यसम्पादन गर्दै अनिवार्य अवकाश हुनुभएका शिक्षा अधिकृत गुनाराम खनाललाई विदाई गरिएको थियो । कार्यक्रममा बोल्दै खनालले गाउँसभाको अवसर पारेर सम्मानसहित विदाइ गरेकोमा गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । शिक्षा शाखामा रहेर खनालले बगनासकाली गाउँपालिकामा २०७६ बैशाख १ देखि २०८२ बैशाख ३ गतेसम्म सेवा गर्नुभई अनिवार्य अवकास हुनुभएको गाउँपालिकाले जनाएको छ । सम्मान तथा विदाई कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुजन घिमिरेले गर्नुभएको थियो ।
गाउँपालिकाको अठारौं अधिवेशनले उपाध्यक्ष हरिप्रसाद पाठकले पेश गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपैंयाको विनियोजन विधेयक र आर्थिक विधियक छलफलसहित पारित गर्दै सभा समापन भएको हो ।





















