दयाराज न्यौपाने
पाल्पा असार १८ –पाल्पाको पूर्वखोला गाउँपालिकाले तयार गरेको ५ वर्षे रोजगार रणनीति योजनाको अध्यावधिकका लागि छलफल कार्यक्रम मंगलबार पूर्वखोलामा सम्पन्न भएको छ ।

बगनासकाली गाउँपालिकाका लेखा प्रमुख तथा प्रशिक्षक कोशलराज पौडेलले एकिकृत श्रम तथा रोजगार सेवा र श्रम बजारको अवस्था विषयक प्रधानमन्त्री रोजगार कार्यक्रम, एकिकृत श्रम रोजगार सेवा प्रवाह र रोजगारसंग सम्बन्धित कानुनी व्यवस्थाका, रोजगार रणनीति मस्यौदा, रोजगार सेवाको नक्सांकनसंगै धारणा संकलन तथा बेरोजगारको अवस्था, अवसर विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले रोजगार नीति,नेपालमा उपलव्ध श्रम शक्तिलाई प्रतिस्पर्धी वनाउदै श्रम बजारको माध्यमबाट उत्पादनशील, मर्यादित एव सुरक्षित रोजगारीमा संलग्न गराउनु पर्नेमा जोड दिनु भएको थियो ।

नागरिकलाइ न्यूनतम रोजगारीको हकलाइ सुनिश्चित गर्न, उत्पादनशिल रोजगारी र विकासका पुर्वाधारका क्षेत्रमा नेपालको श्रम शक्तिलाइ प्रतिस्पर्धि एंव सुरक्षित रोजगारीमा संलग्न गराउदै अर्थतन्त्रलाई सवल र गतिशिल बनाई रोजगारीको हकलाइ व्यवहारिक कार्यान्वयन गर्न स्थानीय रुपमा रहेको श्रोत साधन प्रयोग गरि रोजगारिका राष्ट्रिय प्राथमिकता र दीर्घकालिन सफलताका लागि आगामी आ.व. २०८२–०८३को वार्षिक योजनामा आवस्यक बजेट व्यवस्थापन गरिने पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले प्रतिवद्धता जनाउनु भएको छ ।
अध्यक्ष थापाले रोजगारी संबैधानिक व्यवस्था र कानूनी प्रावधान तथा संघ, प्रदेश र स्थानीय तहले तर्जुमा गरेका रोजगारी सम्बन्धी नीति, नियम, कार्यविधिलाइ आम नागरिकको जीवनमा रुपान्तरण ल्याउन पूर्वखोलामा रोजगार रणनीतिको आवश्यकतालाई पुरा गर्न श्रोत साधनको समुचित र एकिकृत गरी गाउँपालिकामा आन्तरिक रोजगारी सिर्जना गर्न सहयोग पुग्नेगरी न्युनतम रोजगारीका कार्यक्रम, उधमशिलता तालिम, व्यवसायिक सिप विकास, सिपयुक्त जनशक्ति परिचालन गर्ने सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

रोजगारीको अवस्था कमजोर रहेको बताउदै ५ बर्षे रोजगार रणनीति निमार्णले रोजगारीको बाटो खोल्ने र केही हदसम्म भएपनि न्युनिकरण गर्न सकिने उपाध्यक्ष भागिरथी भट्टराइले बताउनु भयो ।
पालिका भित्रका सडक मार्गहरुको मर्मत सम्भार, सडकको दायाँ बायाँ रहेका नालीसफाई, झाडी सफाई, पालिकाबाट संचालन भएका विद्यालय, मन्दिर, तटबन्ध, कुलो तथा रोजगार प्रदाय संघ संस्थाहरु सामुदायिक बन, खानेपानी संस्था, उद्योगबाट समेत संचालन हुने रोजगारमुलक कार्यहरुमा कार्यहरुमा सुचिकृतहरुलाई संलग्न गराउन सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्न पहल गर्ने लगायतका विषयमा मस्यौदामा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनु भयो ।
बेरोजगारको अवस्थालाइ रोजगार उत्पादमा सहयोग पुग्ने गरि ५ बर्षे रोजगार रणनीति योजनाको अध्यावधिककालागि आवस्यक सुझाव संकल्न गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक भुपेन गाहाँले बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्य सहित शाखा प्रमुखहरको सहभागिता रहेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार सहायक झविर राजको संचालनमा कार्यक्रम चलेको थियो ।





















