दयाराज न्यौपाने
बगनासकाली गाउँपालिकाले वार्षिक प्रगति समीक्षा कार्यक्रम सोमबार सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा गाउँपालिकाबाट सम्पादन भएका कामहरूको प्रगति समीक्षा गरेको हो ।

समीक्षा कार्यक्रममा ९ वटा वडा कार्यालय र गार्उँपालिका भित्रका १९ वटा विषयगत शाखाको गरी २८ वटा शाखाले आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमको समीक्षा गरेको प्रशासन शाखा प्रमुख सुजन घिमिरेले जानकारी दिनुभयो गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले समीक्षा कार्यक्रममा गाउँपालिकाले वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड दिएको, बाल मैत्री कार्यक्रममा जोड दिएको जानकारी दिनुभयो । यस्तैगरी नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको जनाएको छ ।गाउँपालिकाले गत आवमा १ करोड ४ लाख आन्तरिक आम्दानी गरेको बताउँदै ९६ लाख २२ हजार बेरुजु संम्परीक्षण भएको बगनासकाली गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले बताउनु भयो ।

गत आर्थिक वर्षमा बगनासकाली कुल ५६ करोड ९९ लाख २ हजार बजेट विनियोजन गरेको थियो । जसमा ५० करोड ८८ लाख ३८ हजार २ सय ५२ रुपैयाँ खर्च भएको छ । कुल बजेटको ८९.२९ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनु भयो । पूँजीगततर्फ १९ करोड ८८ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १७ करोड १२ लाख ९९ हजार ८ सय १४ रुपैया खर्च भएको छ । पूँजीगततर्फ यो खर्च रकम ८६.१६ प्रतिशत हो । त्यसैगरी चालु बजेटतर्फ ३७ करोड १० लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ३३ करोड ७५ लाख ३८ हजार ४ सय ३८ रुपियाँ खर्च भएको छ । चालुतर्फ यो खर्च रकम ९०.९६ प्रतिशत हो । गत आवमा भएका प्रगति समीक्षाले सेवा प्रवाह प्रभावकारिता र सुशासन वृद्धिमा सघाउ पु¥याउने प्रमुख प्रशासकीय अधिकृत छिनालले बताउन भयो । यो पाल्पा जिल्लाको उत्कृष्ट वित्तिय प्रगति हो ।

गाउँपालिकाले वर्षभरिमा जम्मा ३ सय २४ वटा योजनाहरू संचालन भएको र ३ किलो किलोमिटर कालोपत्रे गरेको, १५ शैयाको अस्पतालको काम अन्तिम चरणमा पुगेको र गत वर्ष प्रशासनिक भवनको उद्घाटन गरिएको जनाएको छ । शिक्षा तर्फ एसइइमा गाउँपािलका जिल्लामै प्रथम भएको ,समृद्धिका लागि वन परियोजनामा उत्कृष्ट भएर १ लाख २५ हजार रुपियाँ प्राप्त गरेको,स्वास्थ्यतर्फ पोषण कार्यक्र,सुरक्षित मातृत्व, स्वास्थ्य उपचार, औषधिवितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी गराउनु भयो । उहाँले गाउँपालिकामा पछिल्लो समय नसर्ने रोग लागेका संख्या बढ्दो रहेको जानकारी गराउनु भयो ।

समीक्षा कार्यक्रमा पञ्जीकरण शाखा,रोजगार शाखा, राजस्व शाखा, कृषि, बालमैत्री, सामाजिक सुरक्षा तथा पञ्जिकरण,योजना शाखा, पशुसेवा, महिला तथा बालबालिका, गरिवि निवारणका लागि लघुउद्यम, सूचनाप्रविधि, जिन्सी शाखाले आआफ्नो वार्षिक प्रगति पेश गरेका थिए । गाउँपालिकमा आ.व.२०८१÷०८२ मा बसाई सराईको संख्यामा वृद्धि भएको समेत जानकारी गराइएको थियो ।

वार्षिक प्रगति समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष सस्स्वती चिदीले समग्रमा आर्थिक बर्ष २०८१÷०८२ उपलब्धीमूलक रहेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रवाहलाई यस वर्ष प्रभावकारी ढङ्गले अगाडि बढाउने बताउनु भयो । चिदीले सामाजिक विकासका लागि जनप्रतिनिधिहरूको साथ र सहयोग सदैव रहने भन्दै उच्च मनोवलकासाथ कार्य सम्पादन गर्न आग्रह समेत गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले व्यवस्थित ढङ्गले योजना बनाएर काम भएकोले यस आवमा उत्कृष्ट हुन् सफल भएको बताउनु भयो । सोही अवसरमा बगनासकाली गाउँपालिकाले तयार पारेको ५ वर्ष गाउँ शिक्षा योजनाको पुस्तक बिमोचन गरिएको शिक्षा शाखा प्रमुख नारायण तिमिल्सेनाले जानकारी दिनुभयो ।





















