दयाराज न्यौपाने
पाल्पा फागुन २८ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पाल्पाका दश स्थानीय तह मध्ये बगनासकाली गाउँपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले गरेका कार्य सम्पादनको आधारमा प्रकाशित अन्तिम नतिजामा बगनासकाली पहिलो बनेको हो । आयोगले देशैभरीका स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा गरेको कार्य सम्पादनको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो ।
जिल्लाका दश स्थानीय तहमा बगनासकाली गाउँपालिकाले सबैभन्दा धेरै ७१दशमलव ९६अंक प्राप्त गरी पहिलो भएको हो । यस्तैगरी रिब्दीकोट गाउँपालिकाले ६९ दशमलव ९४ अंक ल्याएर दोस्रो र रम्भा गाउँपालिकाकाले ६७ दशमलव १९ अंक ल्याएर तेस्रो भएका छन् । यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा तानसेन नगरपालिकाले ६६ दशमलव ८०,रैनादेवी छहरा गाउँपालिकाले ६६ दशालव ७६, रामपुर नगरपालिकाले ६५ दशमलव ६१ ,माथागढी गाउँपालिकाले ६० दशमलव ६१, तिनाउ गाउँपालिकाले ६० दशमलव १७, निस्दी गाउँपालिकाले ५७ दशमलव ६० र पूर्वखोला गाउँपालिकाले ५६ दशमलव ८७ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहबीच सकारात्मक प्रतिस्पर्धा होस् भन्ने हेतुले आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार मूल्यांकन गर्ने गर्दछ ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकमा मूल्याङ्कन हुने गर्दछ । कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनाउन कार्यन्वयन गर्ने पक्षको महत्वपूर्ण योगदान रहेको उल्लेख गदै नतिजाले आगामी दिनमा समेत काम गर्ने हौसला प्रदान गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदील बताउनु भयो । उहाँले यो नतिजा ल्याउन पालिकाका कर्मचारी,जनप्रतिनिधि सहित आम सरोकारवाला नागरिकको महत्वपूर्ण भूमीका रहेको उल्ल्ेख गदै धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।





















