राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले भदौ १५ गते प्रज्ञा प्रतिष्ठानमा लोक गायक तथा संगीतकार नारायण रायमाझीको सम्मानमा नारायण रायमाझी एकल साँझ आयोजना गर्ने भएको छ।

नेपाल टेलिकम कार्यक्रमको मुख्य प्रयोजक रहेको छ। एकल साँझको नाम ‘नारायण रायमाझी सांगीतिक साँझ-२०८०’ नाम दिइएको छ। कार्यक्रममा गायक रायमाझीले आफ्ना पुरानादेखि नयाँ गीत प्रस्तुत गर्नेछन्।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रतिष्ठानले एकल साँझको बारेमा जानकारी दिएको छ। कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो वर्षबाट एकल साँझ आयोजना थालेको बताइन्।
कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुवै रहेको बताए।
एकल साँझ दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्नेछ।
२०४२ सालमा कारगिलबाट आफ्नो सांगीतिक यात्राको सुरू गरेका रायमाझीका ‘ राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साइली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया,राम्दीपूल तरने बित्तिकै सान्नानीले झुक्कायो मलाई’ लगायतका गीत चर्चित छन्।
रायमाझीले ‘गोर्खा पल्टन, परदेशी र परदेशी २’ लगायतको फिल्म निर्देशन गरेका छन्।





















