दयाराज न्यौपाने
पाल्पा भाद्र २८ । आज कुशे औंसी, हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउँदै देशैभर कुशे औंशी पर्व मनाईंदैछ ।

प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने कुशे औंशीलाई गोकर्ण औशीको नामले समेत चिनिने यो दिन बिहानै उठी स्नान गरि कसैसंग नबोली पत्रित्र बनस्पति कुशलाई घरघरमा भित्र्याउने परम्परा रहि आएको बराङ्दीका ८८ बर्षीया डण्डपानी पाण्डेले बताउनु भयो । साथै सोहि दिन बाबुको मुख हेर्ने दिनको रुपमा समेत रहेको कारण आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।
‘कुश’लाई देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति मानिन्छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । कुशे आँैसीका दिन पितालाई धर्मको स्वरुपको रुपमा पालक,पोषक र रक्षकको रुपमा मानिन्छ
। छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदर भावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको ज्योतिष पण्डित बिष्णु प्रसाद बस्यालले जानकारी गराउनुभयो । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् । बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।





















