दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज बाट सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने गर्दछ। यी दिनमा पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ। हिन्दु धर्मावलम्बिले सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन्। पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उचाई र महत्त्वलाई थप स्पष्ट पार्छ। पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिवारजनको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखेर पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ। जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनको आत्मालाई शान्ति प्राप्त हुन्छ। पितृ कार्य गरी दिइएको पिण्ड तर्पण भोजनमा परिणत भएर पितृहरूले पाउँछन् भन्ने मान्यता छ। यस अवसरमा विभिन्न ठाउँमा चौतारी रहेका पितृहरूलाई आ–आफ्नो ठाउँमा गई पिण्ड पानी ग्रहण गर भनी यमराजले छुट्टीसमेत दिन्छन् भन्ने मान्यता छ। सोह्र श्राद्धका दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारी, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ। यसका साथै शुद्ध ठाउँमा बसेर श्राद्ध गर्ने गरिन्छ। यसका साथै काग, गिद्धको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँमा र श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ। घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन्। शास्त्रअनुसार श्राद्ध गर्ने ठाउँ नजिकै फलामयुक्त सामान वा घन, झ्याम्फल, कुटो, कोदालो, काटी लगायतका सामानहरू राख्नु हुँदैन। यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतीक भएकाले यिनलाई देखेमा पितृहरू डराइ भाग्छन् र घरमा प्रवेश गर्दैनन् भन्ने विश्वास छ।




















