पाल्पा – तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागद्वारा प्रकाशित ‘प्रज्ञान’ को लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले ‘प्रज्ञान’को लोकार्पण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि उहाँले नेपाली भाषाप्रति भएको अनावश्यक हस्तक्षेप रोक्नुपर्ने धा
रणा राख्नुभयो । उहाँले नेपाली भाषा र अङ्ग्रेजी भाषाका बीचमा तुलना गर्न नसकिने भन्दै नेपाली भाषा सपना देख्ने भाषा हो भन्नुभयो । नेपाली भाषालाई ध्वस्त बनाउने केही तत्व लागेपनि त्यो सफल नहुने विचार उहाँले राख्नुभयो । नेपाल सरकारको प्रत्येक कार्यालयमा अधिकृत स्तरको नेपाली विज्ञ राख्नुपर्ने माग र अडान आफ्नो रहेको उहाँको भनाई छ ।
विशिष्ट अतिथि पूर्व क्याम्पस प्रमुख चोलेश्वर शर्माले नेपाली विभागले प्रज्ञान पत्रिकालाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । लेखक तथा इतिहासकार निर्मल श्रेष्ठले प्रज्ञान पत्रिकालाई निरन्तरता दिनका लागि गरिएको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका डा.पीतबहादुर नेपाली, अवकाश हुनुभएका पूर्व प्राध्यापक युवराज पौड्याल, कर्मचारीहरू तारा अधिकारी, सर्वनाथ नेपाल र टेकबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा त्रिवि प्राध्यापक संघ इकाइका अध्यक्ष खिमबहादुर राना, त्रिवि कर्मचारी संघ इकाइ अध्यक्ष डुण्ढीराज ढकाल, स्ववियु सभापति कृष्ण अर्याल, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईलगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले स्वागत र उपप्राध्यापक डा. टंकप्रसाद पन्थले सञ्चालन गर्नुभएको थियो ।