दयाराज न्यौपाने
पाल्पा असोज ८ ÷बगनासकाली गाउँपालिका पाल्पाले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि सुरक्षाकर्मी ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, पाल्पा व्यापार संघ र उपभोक्ता हक हित संरक्षण समिति लगाएतको प्रतिनिधित्वमा बजार अनुगमन गरेको हो ।
बगनासकालीको चितुङ्धारा, पोखराथोक राम्दी, चापपानी ,दर्लमडांडा ,पोखराथोक लगाएतको स्थानमा रहेका बजारका ३७ वटा खाद्य पसलको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ३९ हजार ६ सय मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरीएको बगनासकाली गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुजन घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको र अनुगमनलाई निरन्तरता दिने बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनु भयो ।
अनुगमनका क्रममा केही समय पहिला नै म्याद गुज्रिएको सुजी , पकौडा पिढो , चिउरा , किसमिस ,काजु आटा ,मसला चियापत्ती ,मिठाइ ,पेप्सी,चिउरा। बियर लगाएत ३१ प्रकारका सामाग्रीहरु व्यापारीले उपभोक्तलाई बेचेको पाइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनु भयो ।
पसल दर्ता नगरी व्यापार गरेका तथा नवीकरण समेत नभएका व्यापारीलाई समेत सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो ।
बगनासकाली गाउँपालिकाले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । अनुगमनका क्रममा भेटिएका उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको हो ।