दयाराज न्यौपाने
पाल्पा जेठ ३- प्रेस चौतारी नेपाल पाल्पाले ३२ औ मदनआश्रित स्मृति दिवसका अवसरमा जबज र सञ्चार संवाद कार्यक्रम गरेको छ । कार्यक्रममा एमाले पाल्पाका सदस्य चौतारी फाँट इन्चार्ज राजेशकुमार अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अर्यालले जननेता मदन भण्डारीले सुरु गरेका कार्ययोजना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउदै उहाँले अघीसारेका कार्यक्रम जनतासंग प्रत्येक्ष जोडिएको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जनताको बहुदलीय जनबादलाई समयानुकूल सिर्जनात्मक रूपमा प्रयोग गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले जनताका विच कामलाई सकारात्मक रुपमा समाचार सम्प्रेषण गरेर मुलुकमा समाजवाद ल्याउन सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले यो वर्ष चौतारीको प्रशिक्षण वर्षको रुपमा रहेकोले सोही अनुसार कार्यक्रम गरिएको बताउनु भयो ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा गाडी दुर्घटनामा मृत्यु भएको सम्झनामा हरेक बर्षको जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाइन्छ ।
पत्रकार र विद्यार्थी सहभागी भएको भएको कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माको स्वागत तथा जिल्ला सचिव दयाराज न्यौपानेको सञ्चालनमा चलेको थियो ।